रुकुम पश्चिम । रुकुम पश्चिममा अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । जाजरकोट भूकम्प प्रभावित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा मङ्सिर २४ गतेदेखि अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो ।
पहिलो चरणमा आठबीसकोट नगरपालिकाको विभिन्न प्रभावित ठाउँमा ४० जना र सानीभेरी गाउँपालिकाको प्रभावित विभिन्न ठाउँमा ३५ जना गरेर जम्मा ७५ जना नेपाली सेना परिचालन गरिएको छ।
सशस्त्र प्रहरीको समूह पनि बिहीबारदेखि भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि परिचालन भएका छन्।
भूकम्प गएदेखि प्रभावित क्षेत्रको उद्धार राहतमा सक्रिय नेपाल प्रहरी भने निरन्तर प्रभावित क्षेत्रमा प्रहरी लागत सङ्कलनमा खटिरहेको छ । नेपाली सेना तथा सशस्त्र प्रहरी पनि उद्धार र राहतसँगै अब अस्थायी आवास निर्माणमा परिचालन भएका हुन् ।
जिल्लाभर २५ हजार लाभग्राही यकीन भए पनि विवरण सङ्कलन जारी रहेकाले ३० हजार लाभग्राही पुग्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले रुकुम पश्चिममा तीन हजार छ सय ४५ अस्थायी आवास निर्माण गरेको जनाएका छन् भने अझै हजारौँ अस्थायी आवास निर्माण हुन बाँकी छन् ।