हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका पर्ने ताक्ची खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ। सस्पेन्सन ब्रिज डिभिजन ललितपुरको दुई करोड लागतमा ताक्ची खोलामा झोलुङ्गे पुल निर्माण गरिएको हो।
डिभिजनले २०७८ सालमा निर्माण कार्य सुरु गरेर २०८१ असार मसान्तमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । १२२ मिटर लामो उक्त पुल निर्माणका लागि सामाग्री ढुवानी गरेर लैजान निर्माण कम्पनीलाई लामो समय लागेको थियो । निर्माण सामाग्री ढुवानी गरेर निर्माण स्थलमा पुर्याएपछि चार महिनामा पुलको निर्माण कार्य पुरा भएको हो ।
खोलाको तुम्लीङमा नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएपछि यहाँका बासिन्दालाई खोला तर्न सहज भएको छ।
पुल निर्माण नहुँदा यसअघि लिमीका बासिन्दाहरूले पाँच जना भन्दा बढी मानिस मिलेर हात समातेर खोला तर्ने गर्थे। बर्खा याममा त उक्त खोला तर्न नसकिने भएको कारण लिमीका स्थानीयले एक दिन बाटो हिँडेर लिमी आउजाउ गर्नु पर्ने बाध्यता समेत थियो। खोलामा पुल नहुँदा हालसम्म लिमी पच्चीस भन्दा बढी पशु बस्तुलाई खोलाले बगाएको छ। पुल बनेपछि लिमीवासीको वर्षौँ देखिको माग समेत पुरा भएको छ ।