कास्की । नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले बुधवार कम्पनीहरूले आफैँ प्याराग्लाइडिङ उडाउन पाउने र दर पनि आफ्नै हिसाबले तोक्न पाउने निर्णय गरेको छ। ना को उक्त निर्णयसँगै अब पोखराको प्याराग्लाइडिङ उडानमा रहेको कार्टेलिङ अन्त्य भएको छ ।
नाले नेपाल नागरिक उड्डयन प्राधिकरणका नियमहरू पालना गर्दै खुला रूपमा उडान गर्न र रेट तोक्न भनेको छ ।
यसअघि पोखराका कम्पनीहरूले प्याराग्लाइडिङ उडानको बाह्र हजार शुल्क लिँदै आएका थिए । यो निर्णयपछि पाइलटहरूले उडान ठप्प पारेका छन् । नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबले नयाँ अवस्थामा उडान भर्न नसक्ने जनाएको छ । क्लबका अध्यक्ष दीपक थापाले निर्णयले बजार अस्वस्थ हुने र सुरक्षा चुनौतीसमेत देखिने जनाउँदै अर्को निर्णय नभएसम्मका लागि पाइलटहरूले उडान नभर्ने जानकारी दिए।
केही पाइलटले भने यो निर्णयले छ, सात हजारमै उडान भर्नुपर्ने अवस्था आउने चिन्ता जनाएका छन् । अहिले ५२ वटा कम्पनी ना सँग आबद्ध छन् । तीमध्ये २१ कम्पनीले छाता संस्थाको निर्णय नमान्ने बताएपछि बुधवार मात्र आफ्नै तरिकाले शुल्क तोक्न र आफैँले सञ्चालन गर्न पाउने निर्णय गरिएको ना ले जनाएको छ।