म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा विद्युतका नाङ्गो तार हटाउन थालिएको छ। नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले सुन्तलाका बगैँचाभित्र रहेको विद्युत् वितरण लाइनको नाङ्गो तार हटाउन थालेको हो।
नाङ्गो तार हटाएर राखिने एबिसी केबुल तारसहित मजदुर र प्राविधिकको टोली बुधबार दोसल्ले पुगेको छ ।
सुन्तलाको हाँगाले नाङ्गो तार छोएकाले बगैँचाभित्र पस्न जोखिम थियो। नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रमार्फत तत्कालै तार हटाउने काम सुरु भएको हो ।
बयालिस परिवार बस्दै आएको दोसल्लेमा पूरै गाउँमा सुन्तलाखेती गरिएको छ । नौ हजार सुन्तलाका बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको वितरण लाइनको नाङ्गो तारले हाँगा छुन थालेको थियो ।तारमा छोइएर सुन्तलाका बोट समेत मर्न थालेका छन् । रहेका बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र मलजलका लागि बगैँचामा पस्न समेत डरमर्दो भएपछि तार हटाउन थालिएको हो।