म्याग्दी। रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा पदमार्ग निर्माण अभियान सञ्चालन भएको छ । उक्त पदमार्ग निर्माण अभियान वडा कमिटीले सञ्चालन गरेको हो।
सा पदमार्ग अभियानमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले श्रमदानसहित आर्थिक सहयोग गरेको छ ।
नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको माछखर्कदेखि कुनौटाघाट जोड्ने पदमार्गको श्रमदान अभियानमा बुधबार जिल्ला संयोजक एवम् गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जाली, प्रदेशसभा सदस्य हरी भण्डारी, पुर्व प्रदेशसभा सदस्य विनोद केसी, पाटीका प्रदेश सदस्य रिम केसी, बेनी नगरकमिटीका सचिव ज्ञानेन्द्र सुवेदी र जिल्ला सदस्य नरबहादुर भण्डारीलगायत स्थानीयले श्रमदान गरेका थिए ।
गाउँमा दिवंगत भएका व्यक्तिलाई कालिगण्डकी नदीको घाटसम्म पु¥याउन जीर्ण पदमार्ग रहेको ठाउँमा पक्की पदमार्ग निर्माण अभियानअन्तर्गत श्रमदानस्थलमा जिल्ला समितिको तर्फबाट जिल्ला संयोजक जुग्जालीले १० हजार रुपैयाँ आर्थिक सहयोग वडा कमिटीका अध्यक्ष बालकृष्ण कटुवाललाई हस्तान्तरण गरे ।
गत असोजको तेस्रो सातादेखि पदमार्ग निर्माण सुरु भएको थियो । श्रमदान अभियानबाट सुरु भएको पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीयवासी श्रमदानमा जुटेका छन् भने प्रवासीले मन खोलेर सहयोग गरेको बताइएको छ।