सुर्खेत। कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन विस्तारको काम पुनः अवरुद्ध भएको छ । मुआब्जा र वनको विवाद समाधान नहुँदा आयोजनाको काम ठप्प भएको हो ।
आयोजना प्रमुख रवि चौधरीका अनुसार विवादरहित क्षेत्रमा काम सकिए पनि निकुञ्ज क्षेत्रभित्रका रुख कटानको आदेश नहुँदा र स्थानीयको अवरोधका कारण काम रोकिएको हो । अहिलेसम्म २२ किलोमिटरसम्म तार तान्ने काम भइसकेको छ । ९५ वटा फाउन्डेसन निर्माण र ६० वटा टावर तयार भइसकेका छन् । ८० वटा पोल गाडिएको छ । बाँकी रहेका काम अघि बढाउन मुआब्जा विवाद र रुख कटानको समस्या समाधान गर्नुपर्ने हुन्छ ।
कर्णालीमा बिजुली पुग्ने एउटै आधार कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनलाई १३२ केभीको बनाउन काम थालिएको हो तर निकुञ्जले रुख कटान अनुमति दिएको छैन । रुख कटानको अनुमतिको फाइल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा थन्किएको छ । विभागबाट अनुमति प्राप्त नहुँदा निकुञ्ज क्षेत्रमा काम अघि बढ्न सकेको छैन । आयोजनाका अनुसार निकुञ्ज क्षेत्रभित्रका करिब छ हजार रुख कटानका लागि अनुमति मागिएको छ । आयोजना प्रमुख चौधरीका अनुसार ठेकेदारले काम गर्ने ठाउँ दिनूस् भनेर पत्राचार गरिरहेको छ । अब काम गर्न बाँकी क्षेत्रमा विवाद नै विवाद छ । त्यसैले काम ठप्प भएको हो । गोरखापत्रबाट