काठमाडौं। सरकारले देशका केही ठाउँहरुमा सांस्कृतिक गाउँ बनाउन सुरु गरेको बताइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले शुक्रबार सांस्कृतिक संस्थानले आयोजना गरेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै सरकारले एउटा गाउँबाट नेपालको पुरा सांस्कृतिक चित्र देखिने गरी सांस्कृतिक गाउँ बनाउन लागेको बताएका हुन्।
मन्त्री किरातीले लोकगीत, उखानटुक्का, कथा, मुन्धुम र कैरनहरुमा रहेका कतिपय विषयहरुलाई रेकर्ड गरेर राख्न मौखिक ज्ञान संग्रहालय बनाउन लागेको पनि जानकारी दिए। त्यस्तै रैथाने विश्वविद्यालयको अवधारणा अघि सारेको उनले बताए । उनले आफूहरु संस्कृति ऐन निर्माणका लागि अगाडी बढेको बताए ।
मन्त्री किरातीले सांस्कृतिक सम्पदाहरुलाई राष्ट्रको पुँजीमा बदल्नको निम्ति, उत्पादन र उद्योगमा संस्कृतिलाई जोड्नको निम्ति र नेपालको अनुहार एक मञ्चबाट विश्वलाई एक साथ देखाउनको निम्ति माटोको गीत सांस्कृतिक कार्यक्रम गरिएको बताए ।