पोखरा। आठ महिनाअघि भत्काइएको पोखरा फेवातालको बिचमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माण अझै सुरु भएको छैन । पुनर्निर्माण गर्ने भन्दै गत चैतमा मन्दिर भत्काइएको थियो ।
योजना अनुसार मङ्सिरभित्रै मन्दिर पुनर्निर्माण सकिनुपर्ने थियो । २०७२ सालको भूकम्पका कारण मन्दिर दक्षिणतर्फ तीन इन्च ढल्किएको थियो । तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले बनाएको गुरुयोजना अनुसार कात्तिक ९ गते मन्दिर निर्माण शिलान्यास भयो । तर पुरातìव विभागको स्वीकृति नलिई बनाइएको गुरुयोजनाका कारण अहिले निर्माणको कार्य रोकिएको छ ।
मन्दिर विक्रम संवत् १४४७ मा निर्माण भएको विभिन्न अभिलेखमा उल्लेख छ । भत्काइएको प्यागोडा शैलीको मन्दिर २०१७ सालमा निर्माण भएको थियो । व्यवस्थापन समितिले बनाएको गुरुयोजनामा मन्दिरको चार रोपनी क्षेत्रमा अन्डरग्राउन्डसहितको मुख्य मन्दिर बनाउने उल्लेख छ । सो अन्डरग्राउन्डमा फूलका पसल राख्ने योजना थियो । प्राडा भरतराज पहारी नेतृत्वको सात सदस्यीय टोलीले गुरुयोजना बनाएको थियो ।
पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले सो समितिले स्वीकृतिबिना अनुपयुक्त गुरुयोजना बनाएको बताउनुभयो । तालबाराही मन्दिर परम्परागत स्वरूपमै निर्माण गर्नुपर्ने विभागले प्रस्ट पारेको छ । समितिको गुरुयोजना अनुरूपका काम रोकी पुरानै स्वरूपमा मङ्सिरभित्रै निर्माण थालिने बताइएको छ ।
मन्दिर पुरानो शैलीमा निर्माणका लागि गत वर्ष एक करोड ४४ लाख रुपियाँको लागत अनुमान गरिएको थियो । अब सोही लागत अनुसार मन्दिर निर्माण गरिने भएको छ । गोरखापत्रबाट