दमौली। मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीमा थप साढे तीन किलोमिटर खण्ड कालोपत्र भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजना पूर्वी खण्डले आँबुखैरेनी–३ मा सडक कालोपत्र भएको हो ।
योसहित पूर्वी खण्डमा हालसम्म १२ दशमलव पाँच किलोमिटर एकतर्फी कालोपत्र सकिएको बताइएको छ। गत मङ्सिर २२ गते आँबुखैरेनी–३ गाउँपालिकाचोकबाट पहिले कालोपत्र भइसकेको मार्कीचोकसम्म थप कालोपत्रको काम अगाडि बढाइएको थियो ।
यसअघि आँबुखैरेनी–१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म तीन दशमलव पाँच र बन्दीपुर गाउँपालिका–१ नाहालबाट छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको छ । दुई ठाउँमा एकतर्फीरूपमा १२ दशमलव पाँच किलोमिटर खण्ड कालोपत्र सकिएको छ । केही समयपश्चात अर्कोतर्फ पनि कालोपत्रको काम हुने बताइएको छ।
पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म ४२ प्रतिशत काम सकिएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्ड ४१ दशमलव पाँच किलोमिटर दूरीको छ ।