रुपन्देही। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालमा उद्योग नीतिमा आमूल परिवर्तन गर्न आवश्यक भएको बताएका छन्। रुपन्देही उद्योग संघको ४४औँ स्थापना दिवस उद्घाटन गर्दै प्रमुख शेरचनले आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी उद्योग नीतिमा आमूल परिवर्तन गर्नुपर्ने बताएका हुन्।
उनले अहिलेसम्मका उद्योग नीतिहरु अपर्याप्त र उद्योगमैत्री नभएको टिप्पणी गरे। प्रदेश प्रमुख शेरचनले आयातमुखी अर्थतन्त्रले समृद्धि हासिल हुन नसक्ने स्पष्ट पारे । उनले भने, ‘विदेशबाट सामान आयात गरेर नाफा खाएर बेचेर देश समृद्ध बन्दैन । राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने गरी निर्यातमुखी अर्थतन्त्र बनाउन उद्योग नीतिमा आमूल परिवर्तन गर्नुपर्छ।’
सीमित व्यक्तिको हातमा देशको पूँजीको ठूलो हिस्सा रहेको र अर्थतन्त्र उनीहरुको कब्जामा रहेको औंल्याउँदै उनले यस्तो अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
शेरचनले स्वदेशी कच्चा पदार्थमा आधारित र निर्यातमूलक उद्योगलाई प्रवद्र्धन गर्ने नीति राज्यले बनाउनुपर्ने समते बताए।