भैरहवा। लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य पुनः सुरु भएको छ । एक समारोहबिच विश्व शान्ति धाम निर्माणमा सक्रिय महागुरु श्याल्पा तेन्जिङ रिन्पोछे, लुम्बिनी विकास कोषका कोषाध्यक्ष डा। ल्यारक्याल लामा, अमेरिकन दूतावासका प्रवक्ता जेहरा नाक्वीले ढुङ्गा बिच्छाएर धाम निर्माणको पुनः सुरुवात गरिएको हो।
धान निर्माण कार्यको शुभारम्भ समारोहमा उपस्थित सबैजना पालैपालो श्रमदानमा सहभागी भए। लेखक तथा धर्मगुरु रिन्पोछेले थालेको विश्व शान्ति धाम निर्माणमा झण्डै ३० मिलियन डलर लाग्ने अनुमान छ । जसलाई ‘क्राउड फन्डिङ’मार्फत उठाउने लक्ष्य लिइएको छ । शान्तिका माध्यमबाट सद्भावको संस्कृति प्रवर्द्धन गर्ने उद्देश्य परियोजनाको छ ।
समारोहमा गुरु रिन्पोछेले कोभिड अघि निर्माण सुरु गरेको र त्यसपछि रोकिएको काम पुन सुरुवात गरिएको बताए। उनले नेपाल भौतिक रूपमा कमजोर भएपनि संसारको सबैभन्दा धनी हुने श्रोत रहेको भन्दै त्यसलाई उपयोग गर्नुपर्ने बताए । करोडौँ विदेशीहरू बुद्धको धर्मको लागि लालायित भएको भन्दै उनले यसबाट नेपालले ठुलो आर्थिक लाभ लिन सक्ने दाबी गरे।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले निर्माण हुन लागेको विश्व शान्ति धामले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न ठुलो सघाउ पुर्याउने उल्लेख गरे ।
नेपालको लागि अमेरिकन राजदूतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकहरूलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्वबारे बुझ्न सघाउ पुर्याएको उल्लेख गरे। उनले विभिन्न विश्वास र धर्मका मानिसबिच करुणा र मेलमिलाप ल्याउन बुद्धका दर्शन र उपदेशको महत्त्व रहेको बताए ।