काठमाडौं। उड्दा उड्दै विमानको आकस्मिकद्वार खसेको विषयमा तारा एयरले नागरिक उड्डयन प्राधिकरणलाई प्राराम्भिक अनुसन्धान प्रतिवेदन बुझाएको छ। गत मंसिर २४ गते काठमाडौं–लुक्ला उडान गरेको ९एन–एएलओ कलसाइनको जहाजको ‘इमर्जेन्सी ढोका’ खसेको विषयमा कम्पनीले प्राधिकरणलाई प्रतिवेदन बुझाएको हो।
कम्पनीले बुझाएको प्रतिवेदनमा लुक्ला उडान गरेको तारा एयरको आकस्मिकद्वार त्रिभुवन विमानस्थलबाट उडान भएलगत्तै झरेको उल्लेख छ।
प्रतिवेदनमा सामान राख्ने तरिका नमिल्दा आकस्मिकद्वार खसेको उल्लेख भएको छ।
कार्गो राख्दा राम्रोसँग लोडिङ नभएकाले रनवे ०२ बाट उडान गर्दा गोठाटार नजिकै रहेको कृष्ण मन्दिर छेउमा रहेको खाली जग्गामा द्वार खसेको थियो।
जहाज दाहिने पट्टी लाग्दा द्वार खसेको र दाहिनेपट्टी रहेको आकस्मिकद्वार नै छेकिने गरि सामान हालेको हुँदा पाइलटले थाहा नपाएको प्राधिकरणले जनाएको छ।
यो घटना घटेसँगै प्राधिकरणको निर्देशनमा तारा एयरलाई कार्गो लोडरका रिफ्रेसर क्लास लिन लगाइएको समेत प्राधिकरणले जनाएको छ। यसैगरी पाइलट, कोपाइलट र एयरहोस्टेसलाई आठ दिनको ग्राउण्डेड गरिएको थियो।