काठमाडौं। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको सरोकारवालासँगको छलफलका क्रममा पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध विमानस्थलमा केही आधारभूत सुधारसहित विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि मातहत निकायलाई आग्रह गरेका हुन् ।
उनले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरणका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयताको मर्म र भावनाअनुरुप विमानस्थल पूर्णरुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए । मुख्यसचिव डा वैकुण्ठ अर्यालले विमानस्थलको प्रभावकारी सञ्चालनका लागि सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।
छलफलमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले विमानस्थलको विद्यमान अवस्थाबारे जानकारी गराए। सहभागी वायुसेवा सञ्चालक तथा पर्यटन व्यवसायीले विमानस्थलमा जहाजको उडान सङ्ख्या बढाउन र पर्यटकलाई राहत प्याकेजको व्यवस्था गर्न आग्रह समेत गरे।