वराहक्षेत्र। बाङ्गे–नडाहा हुँदै धरान जोड्ने सडकको निर्माण कार्य सुरु भएको छ । गत जेठबाट सुरु भएको सडक बनाउने कामले तीव्रता लिन सुरु गरेको हो ।
वराहक्षेत्र नगरपालिका–३, बाङ्गेदेखि धरान १७ जोड्ने कालोपत्रे सडक बनाउने कामले पछिल्लो समय गति लिन थालेको छ ।
बाङ्गेदेखि धरान जोड्ने साढे नौ किलोमिटर कालोपत्रे सडक निर्माणको काम थालिएको छ । पहिलो चरणमा बाङ्गेदेखि नडाह हुँदै छ किलोमिटरको निर्माण हुने भएको छ । सडकमा पर्ने कल्भर्ट र सडक साइटको वाल उठाउने काम भइरहेको बताइएको छ।
सडक निर्माण गर्दा सडकलाई चाहिने आवश्यक मापदण्ड अनुसार निर्माण गर्न सडक क्षेत्रका दुवैतर्फका स्थानीयले अवरोध नगर्ने भएकाले सडक समयमै निर्माण सम्पन्न हुने विश्वास स्थानीयको छ।
आगामी असार मसान्तसम्म बाङ्गेदेखि नडाहा चोकसम्म पिच भइसक्ने लक्ष्यका साथ काम भइरहेको छ । बाङ्गे नडाहा धरान सडकको कालोपत्रे सात मिटरको हुने छ । निर्माण व्यवसायी प्रोजेक्ट रनिङ इनफास्ट्रक्चर प्राइभेट लिमिटेड ललितपुरले १३ करोड ३९ लाख ५४ हजार आठ सय ५६ रुपियाँ ५६ पैसामा ठेक्का पारेर काम गर्दै आएको छ । इन्फास्ट्रक्चर प्राइभेट लिमिटेडले २०८९ वैशाख १५ देखि सडकको काम सुरु गरेर २०८१ चैत ३० गते काम सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।