तानसेन। निर्माण व्यवसायीको लापरबाहीले ठेक्का भएको सात वर्ष बितिसक्दा समेत चिलाङ्दी–चापपानी–राम्दीसम्मको सडक पूरा भएको छैन ।
सदरमुकाम तानसेनदेखि उत्तरतर्फ जाने चिलाङ्दी–चापपानी–राम्दीसम्मको सडक कालोपत्रे गर्न विसं २०७३ असोज १९ मा ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको १५ महिनाभित्र काम सक्ने गरी निर्माण व्यवसायी वाइपी–जय–रक्तकाली जेभी पुल्चोक ललितपुरसँग सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । विश्व बैङ्कको आठ करोड ३१ लाख लगानीमा आठ किलोमिटर सडक निर्माण गर्न तत्कालीन जिल्ला प्राविधिक कार्यालयसँग सम्झौता भएको थियो ।
झन्डै एक दशकसम्म सडक निर्माणको काम पूरा नगर्दा सडक पूर्वाधार कार्यालयलाई यो योजना सम्पन्न गर्न टाउको दुखाइको विषय बनेको छ । निर्माण व्यवसायीले गएको असारमा काम गर्न थाले पनि केही स्थानमा मात्र काम गरेर पुनः बेपत्ता बनेको कार्यालयका प्रमुख वासुदेव भण्डारीले बताउनुभयो । लामो समयसम्म योजना सम्पन्न नहुँदा यो वर्ष उक्त सडक निर्माणका लागि बजेटै नभएको उनले बताए।
निर्माण व्यवसायीको लापरबाहीले उक्त आयोजना पूरा हुन नसकेको र योजना पूरा गर्नका लागि बजेट पहल भइरहेको कार्यालयको भनाइ छ । निर्माण व्यवसायीले विभिन्न बहाना बनाएर सडक निर्माण नगरेको कार्यालय प्रमुख भण्डारीले बताए।
सडक पूर्वाधार विकास कार्यालयका अनुसार गएको असारसम्मका सडकको ७९ प्रतिशत काम सकिएको थियो । बाँकी कामका लागि ठेकेदारले काम गरेजस्तो गरेर पुनः सम्पर्कविहीन बनेको र अब बाटो पूरा हुने छाँट नभएको स्थानीय बासिन्दाको भनाइ छ । सडक निर्माणमा ठेकेदारले गरेको लापरबाहीलाई सरकारी निकाय टुलुटुलु हेरेर बसेको बगनासकाली–७, खानीगाउँका स्थानीय बासिन्दा पदम गैरेले बताए। ठेकेदारले लामो समयसम्म योजना अलपत्र पारे पनि त्यसलाई कारबाही नगर्दा ठेकेदारमा जे गरे पनि हुन्छ भन्ने व्यवहार हाबी भएको उनले बताए।
चिलाङ्दी चापपानी तथा राम्दी सडक पाल्पाको महत्वपूर्ण सडकका रूपमा रहेको छ । सडक पूर्ण रूपमा कालोपत्रे भएपछि तानसेन–आर्यभन्ज्याङ–राम्दी सडकको वैकल्पिक मार्गका रूपमा चिलाङ्दी–चापपानी सडकलाई प्रयोग गर्न सकिन्छ । जुन बाटो १५ किलोमिटर छोटो दुरीमा पर्छ । गोरखापत्रबाट