बागलुङ। बागलुङको जैमिनी नगरपालिकामा नेपालकै पहिलो ‘मङ्की पार्क’ निर्माण हुने भएको छ। बाली खाएर हैरान बनाउने बाँदरको नियन्त्रणका लागि जैमिनी नगरपालिकाले ‘मङ्की पार्क’ निर्माण गर्ने भएको हो।
पालिकाका स्थानीयहरू बाँदर आतंकले हैरान भएपछि नगरपालिकाले ‘मङ्की पार्क’को योजना अघि सारेको हो । पार्क निर्माणको काम सफल भएमा आतंक न्यूनीकरण हुने नगरपालिकाको विश्वास छ ।
सो समस्याबाट छुटकारा पाउन बाँदरहरूको लागि नगरपालिकाले ‘मङ्की पार्क’को अवधारणा ल्याएको हो । नगरप्रमुख पुनले ‘मङ्की पार्क एउटा सानो पाटो मात्र भएको र खासमा प्राकृतिक चिडियाखाना निर्माण गर्ने योजना रहेको बताए।
हाल प्राकृतिक चिडियाखाना र मङ्की पार्क निर्माणको सोच लिएर छलफल सुरु भएको उनको भनाइ छ।
बाँदरको नियन्त्रणका लागि नगरपालिकाले गर्न लागेको यो पहिलो प्रयास हो । ‘मङ्की पार्क’ नेपालको लागि नयाँ विषय हो। नगरपालिकाको वडा नं ८ मा रहेको २८१ हेक्टर क्षेत्रफल वनमा सो ‘मङ्की पार्क’बनाउने योजना पालिकाको छ । चालु आर्थिक वर्ष २०८०/८१ बाट मङ्की पार्क निर्माणको प्रारम्भिक अध्ययनका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।