वालिङ। वालिङ नगरपालिका–५ पाँडेथोकमा सडक पुगेको छ। सडक पुगेपछि स्थानीय खुशी भएका छन्। किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणका लागि सडक पुगेपछि सहज भएको छ। गाउँमा उत्पादन भएको मौसमी तथा बेमौसमी तरकारी, फलफूल डोकामा बोकेर वालिङ बजार लैजानुपर्ने बाध्यता थियो। सडक पुगेपछि गाउँमै बजारीकरण हुने भएको छ।
कृषि उपजको बजारीकरणका लागि गाउँमै बिना विद्युतीय रोपवे (ग्राभिटी रोपवे)समेत निर्माण भई सञ्चालनमा आएको छ। विस्तारै सडकको पहुँच गाउँमा पुगेपछि अहिले सवारीसाधनमार्फत नै ढुवानी गर्न थालिएको स्थानीयले बताए।
डोकोमा बोकेर ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ। अहिले गाउँबाट बिहानमा बजार झर्ने गाडीमार्फत सिधै उपभोक्ता वा व्यापारीकामा कृषि उपज पठाउन थालिएको छ।
सवारीधनीहरूको सहयोगमा गाउँमा उत्पादन भएको कृषि उपजले सहजरूपमा बजार पाएको हो । सवारीधनीले गाउँका प्रत्येक घरबाट उत्पादित कृषि उपज सङ्कलन गरी दैनिक बजार लैजाने र बेलुकी रकम र क्यारेट घरमै फिर्ता गरिदिने भएकाले किसानलाई निकै सहज भएको बताइएको छ।