कञ्चनपुर। पूर्वपश्चिम राजमार्गअन्गर्तत कञ्चनपुर–कैलालीमा सडक मर्मतको काम सुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मत गर्नका लागि ठेक्कामार्फत काम अगाडि बढाइएको हो ।
राजमार्गको कैलाली खण्डमा ८० किलोमिटर र कञ्चनपुर क्षेत्रमा १२ किलोमिटर क्षेत्रमा मर्मत कार्य अघि बढाइएको छ।
पटके मर्मतका लागि लम्कीबाट अत्तरिया र कान्ला पुलबाट गड्डाचौकीसम्म ठेक्कामार्फत काम भइरहेको छ ।
सडक मर्मतका लागि तीन महिनाभित्र काम सक्नेगरी एक करोडमा ठेक्का आह्वान गरिएको छ। पुस मसान्तसम्म अन्तिम म्याद रहेको छ । पटके मर्मतका लागि वर्षमा दुईपटक ठेक्का आह्वान गरी काम अगाडि बढाउने कार्य हुँदै आएको छ ।
यसैगरी चिसापानीबाट लम्कीसम्मको १० किलोमिटर सडकमा अस्पाल्ट ओभरले कार्यका लागि सात करोडमा ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौताअनुसार कार्य मङ्सिर महिनाभित्रै सक्नुपर्ने थियो तर अझै सकिएको छैन ।
निर्माण सामग्री अभावमा व्यवसायीले काम नसकेकाले म्याद थपका लागि निवेदन दिएको बताइएको छ ।