काठमाडौं। नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको राखेको छ । नेपाल एयरलाइन्सले तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड रहेका दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाजलाई लिलामीमा राखेको हो।
जसले बढी मूल्य कबुल गर्छ उसैले जहाज बिक्री गर्नेगरी एयरलाइन्सले आज गोप्य सिलबन्दी टेन्डर आह्वान गरेको छ। निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म छ ।
निगमले यी जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेको थियो ।
आन्तरिक उडानको प्रयोजनका लागि चीनबाट २०७१ सालपछि भित्राउन शुरु गरिएका यी जहाजबाट नेपाल एयरलाइन्स र सरकारले घाटा मात्र बेहोरिरहेका छन् । साढे ४ अर्ब रुपैयाँ लागतमा खरिद गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज सञ्चालनबाट निगमले २०७१ सालयता वार्षिक औसतः ३८ करोड रुपैयाँ घाटा बेहोरेको छ । त्यसैले निगमले ती जहाज अब नउडाउने निर्णय लिएको छ ।

यी जहाज नाफामा उडाउन कुनै पनि हालतमा नसकिने भएपछि बिक्री गर्न लागेको हो।