काठमाडौं। कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक योजनाले पप्पु कन्स्ट्रक्सनसहित ५ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने तयारी थालेको छ। पटक–पटक म्याद थप भइरहँदा पनि उक्त सडकखण्ड निर्माणको गति अति सुस्त छ।
योजनाले बिहीबार सूचना जारी गर्दै बेनी–जोमसोम–कोरला खण्डमा काम गरिरहेका ५ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको जनाएको हो।
योजनाले पप्पुसहित ५ वटा निर्माण कम्पनीसँग ठेक्का किन नतोड्ने भन्नेमा स्पष्टीकरण मागेको छ। यसका लागि योजनाले सात दिनको समयसीमा तोकेको छ।
योजनाले यस अघि पटकपटक लिखित तथा मौखिक रुपमा ताकेता गर्दा समेत निर्माण कम्पनीहरुले वेवास्ता गर्दै आइरहेका थिए। यी कम्पनीहरुले पटक पटक म्याद थप गर्दा समेत तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगरेपछि योजनाले ठेक्का तोड्ने र कालोसूचीमा राख्ने तयारी गरेको हो।
योजनाका अनुसार पप्पु कन्स्ट्रक्सन–गौरी पार्वती–कोशी एण्ड न्यौपाने जेभी, तामाङ गौरी–कोशी एण्ड न्यौपाने र हिमदुङ एण्ड थोकर–इमोर्टल कन्स्ट्रक्सनले समयमा निर्माण कार्य गर्न सकेका छैनन्।