कञ्चनपुर। कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मतका लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो ।
राजमार्गको कैलाली र कञ्चनपुरमा सडकलाई दुई खण्डमा विभाजन गरी कार्य अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ। पटके मर्मतका लागि लम्कीबाट अत्तरिया र कान्ला पुलबाट गड्डाचौकीसम्म ठेक्कामार्फत काम भइरहेको छ ।
राजमार्गको कैलाली खण्डमा ८० किलोमिटर र कञ्चनपुर क्षेत्रमा १२ किलोमिटर क्षेत्रमा मर्मत भइरहेको बताइएको छ। सडक मर्मतका लागि तीन महिनाभित्र काम सक्नेगरी एक करोड रुपैयाँ ठेक्का आह्वान गरिएको हो। पुस मसान्तसम्म अन्तिम म्याद रहेको छ। पटके मर्मतका लागि वर्षमा दुईपटक ठेक्का आह्वान गरी काम अगाडि बढाउने कार्य हुँदै आएको छ ।