काठमाडौं। महँगो भाडा तिर्दै आएका यात्रुहरुलाइ थप सहज वातावरण सिर्जना गर्ने उद्देश्यका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम निःशुल्क सटल बससेवा सुरु गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र विश्रामकक्षको पनि व्यवस्था गरेको छ।
सटल बस र विश्रामकक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले बुधबार शुभारम्भ गरेका हुन्। टर्मिनल भवनदेखि नै ट्याक्सी प्रयोग गर्दा महँगो भाडा तिर्नुपर्ने यात्रुको गुनासोलाई मध्येनजर गर्दै प्राधिकरणले गोल्डेन गेटसम्म तत्कालका लागि ३ वटा निःशुल्क सटल बसको व्यवस्था गरेको हो।
उक्त सटल बस बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने जनाइएको छ। यसैगरी वैदेशिक रोजगारीमा जाने यात्रु टर्मिनल भवन बाहिरै उभिनुपर्ने समस्या देखिएपछि ४० यात्रु बस्न मिल्ने गरी विश्रामकक्षको व्यवस्था गरिएको हो। सोही अवसरमा मन्त्री आलेले अन्तरिक टर्मिनलमा देखिएको यातायातको समस्याको दीर्घकालीन रुपमा समाधानका लागि सरकारले सटल बसको व्यवस्था गरिएको जानकारी दिएका छन्। विमानस्थललाई अझै व्यवस्थित र सुविधा सम्पन्न बनाउन आफ्नो प्रयास जारी रहेको मन्त्री आलेले जनाएका छन्। साथै उनले आफू सरकारमा रहुनञ्जेल आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा देखिएका विकृतिलाई हटाउँदै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
वैदेशिक रोजगारीमा जाने र उताबाट फर्किने यात्रुका लागि छिट्टै निःशुल्क टेलिफोन सेवाको व्यवस्था गर्ने तयारी भइरहेको प्राधिकरणका महानिर्देशकले जानकारी दिएका छन्। त्यसैगरी प्राधिकरणले वैदेशिक रोजगारीमा जाने यात्रुहरुका लागि रु १ हजार २०० मा पिसिआर परीक्षण गर्न सकिने व्यवस्था मिलाएको उनले जानकारी गराएका छन्। विमानस्थलको विश्राम कक्षलाई अझै व्यवस्थित गर्दै नयाँ भवनमा थप २५० जना बस्न मिल्ने यात्रु विश्रामकक्षको व्यवस्था गर्ने पहल भइरहेको विमानस्थलका सञ्चालन विभाग प्रमुखले बताएका छन्।