ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणको काम सुरु गरेको तेह्र महिनाभित्र सम्पन्न हुने बताएका छन्। सदरमुकाम फुङ्लिङमा सरोकारवालाको सहभागितामा शुक्रबार आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष ढकालले पाथीभरामा प्रस्ताव गरिएको केबलकार निर्माणको काम सुरु गरेको १३ महिनाभित्र सम्पन्न गरी केबलकार सञ्चालनमा ल्याउनले बताएका हुन्।
नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष समेत रहेका ढकालले केबलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणसहित सम्पूर्ण प्रक्रिया पूरा भइसकेको जानकारी समेत दिए। उनले निर्माणको काम थाल्ने वातावरण बनेको अवस्थामा आउँदो फागुनको तेस्रो साता अघि नै परियोजनाको शिलान्यास गरी काम थाल्ने बताए।
केबलकार परियोजना निर्माणमा अवरोध गर्दै आएको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले राखेको मागहरु केबलकार कम्पनीसँग सम्बन्धित नभएको बताउँदै उनले केही सम्बन्धित विषयमा आवश्यक छलफल गर्न पनि कम्पनी तयार रहेको बताइ।
अन्तक्र्रियामा सहभागी राजनीतिक दलका प्रतिनिधिलगायत अधिकांशले केबलकार परियोजनाको काम तत्काल सुरु गर्नुपर्ने बताएका छन्।
जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले पनि स्थानीय र सङ्घर्ष समितिले राखेको मागमा समझदारी जुटाएर भए पनि काम गर्नुपर्ने बताए।