काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्ड हिजोदेखि दैनिक ४ घण्टा बन्द भएको छ। तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि हिजोबाट दैनिक बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिएको हो।
चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिएका छन्। नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन पाइने छ ।
काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०ः४५ सम्म मात्र चलाउन पाइने छ।
यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ । पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ ।