झापा। शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । सो ठाउँमा आउने पर्यटकको सहजताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो ।
उक्त ट्रस ब्रिज ३३ लाख ७५ हजार आठ सय ७१ को लागतमा निर्माण भएको हो। सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत २८ लाख ६९ हजार ४९०, शिवसताक्षी नगरपालिकाको चार लाख ३८ हजार ८६३ र जनसहभागिता ६७ हजार ५१७ रहेको नगरपालिकाले जनाएको छ ।
चौबिस मिटर लामो ट्रस ब्रिज निर्माणमा प्राविधिक सहयोग सहारा नेपालले गरेको छ। ट्रस ब्रिज निर्माणपश्चात् दोमुखमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने अपेक्षा गरिएको स्थानीयको भनाइ छ।