काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न निर्देशन दिएका छन्। आइतबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका योजना र प्रगतिका विषयमा जानकारी लिएपछि प्रधानमन्त्री दाहालले जहाज खरिदलाई पारदर्शी बनाउन मन्त्री र कर्मचारीलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । यसपटक यस्तो गल्ती नहोस् । जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटि नहोउन्।’
दाहालले कतिपय नीति नियमहरु पर्यटकमैत्री नभएका कारण समस्या भएको भन्दै त्यस्ता नीतिहरुमा सुधार गर्नुपर्ने बताए । उनले निषेधित क्षेत्र घोषणा गरिएका पर्यटकीय गन्तव्यहरुमा त्यसलाई खुला गरेर पर्यटन व्यवसायलाई सहज बनाउनुपर्ने बताए ।