जुम्ला। जुम्ला विमानस्थलमा टिकट वितरणलाई व्यवस्थित र पारदर्शी बनाउने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको आह्नानमा बसेको सर्वदलीय बैठकले टिकट वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन सहमति जुटाएको हो ।
यसअघि एयरलाइन्सहरुले मनपरी रुपमा टिकट बाँड्ने, विमानस्थल बाहिरका कार्यालय नखोल्ने, फोनको भरमै आफन्तहरुलाई टिकट दिने र सर्वसाधारण नागरिकले सहजै रुपमा टिकट नपाउने जस्ता जनगुनासो आएपछि समस्या समाधानका लागि सर्वदलीय बैठक बोलाइएको थियो ।
सर्वदलीय बैठकले विमानस्थलमा टिकट वितरण प्रक्रिया पारदर्शी हुनुपर्ने र एक दिन अगावै यात्रुको हातमा टिकट दिइसक्नुपर्ने निर्णय गरेको छ । प्रत्येक वायुसेवा कम्पनीहरूले एकआपसमा सहकार्य गरेर टिकट वितरणलाई सहज बनाउनुपर्ने, हरेक विमान कम्पनीले १० सिट सर्वसाधारणका लागि उपलब्ध गराउनुपर्ने निर्णय भएको छ ।
बिरामी, अशक्तका लागि २ सिट, सुरक्षाकर्मीहरुका लागि प्रत्येक फ्लाइटमा २ सिट र जिल्ला प्रशासनका लागि २ सिट जहाज उड्ने समयको अन्तिमसम्म छुट्याउनुपर्ने, अत्यावश्यक काम भएका यात्रुलाई प्राथमिकतामा राखिनुपर्ने निर्णय भएको छ ।