काठमाडौं। पोखराको पर्यटकीय आकर्षणका रुपमा रहेको प्याराग्लाइडिङ सेवा २ हप्तादेखि बन्द छ। प्याराग्लाइडिङ कम्पनीहरुले उडान शुल्कमा आफूखुसी गर्ने प्रवृत्ति बढेपछि नागरिक उडडयन प्राधिकरणले सेवा सञ्चालन बन्द गराएको छ।
सेवा पुनः संचालनका लागि हालसम्म भएका छलफलमा सहमति जुटेको छैन। प्याराग्लाइडिङ पुनः संचालन सहमतिका लागि बिहीबार नागरिक उडडयन प्राधिकरण र नेपाल हवाई खेलकुद संघ (ना) बीच बैठक बस्ने भएको छ।
यसअघि बसेको बैठकबाट निष्कर्ष ननिक्लेका कारण पुनः बिहीबार बैठक बस्न लागेको प्राधिकरणले जनाएको छ।
सेवा बन्द हुनुमा प्याराग्लाइडिङ कम्पनीहरु बीचकै किचलो प्राधिकरणले जनाएको छ। प्रचलित शुल्कमा घटाघट गरेर जतिमा पायो त्यतिमा उडाउन थालेपछि कम्पनीहरुबीच झगडा बढ्दा दुई सातादेखि सबैका उडान बन्द भएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै प्याराग्लाइडिङ उडानस्थल सराङकोटबाट मान्द्रेढुंगामा स्थानान्तरण गरिएको छ। यो खेलका लागि लागू गरिएको मापदण्ड पालना नभएका कारण तत्कालका लागि सेवा नै बन्द गराइएको प्राधिकरणले जनाएको छ।