म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा स्नानपछि कपडा फेर्नका लागि भवन निर्माण गरिएको छ । पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा तातोपानीमा स्नान गरेपछि कपडा फेर्नका लागि भवन निर्माण गरिएको हो ।
एउटै पक्की भवनमा महिला र पुरुषका लागि कपडा फेर्ने छुट्टाछुट्टै दुई वटा कोठा बनाइएको छ । यसअघि जस्तापाटाको छाना भएको टहरामा मानिसहरुले कपडा फेर्न असजिलो महसुस गर्दै आएका थिए।
कुण्ड परिसरका भौतिक संरचनालाई मौलिक, आकर्षक र वरपर बगैँचा बनाएर सौन्दर्य करण गरिएको छ । बजारदेखि कुण्डमा जाने पैदलमार्गको वरपर र पाखोमा फूल रोपेर बगैँचा बनाइएको छ । शरीर डुबाएर स्नान गर्ने तलाउमा जाने प्रवेशद्वारलाई मौलिक बनाउन भक्तपुरे इँटाको प्रयोग गरिएको छ ।
तातोपानी कुण्डको सौन्दर्यकरण गर्न गत आर्थिक वर्ष २०७९/८० मा रू १५ लाख बजेट विनियोजन भएको थियो । सौन्दर्यकरणका लागि कुण्ड समितिले थप रू तीन लाख लागत साझेदारी गरेको थियो ।