भोजपुर। पौवादुङमा गाउँपालिका–२ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न भएको छ। समाजसेवी कृष्णबहादुर राईले एक करोड ३९ लाखको लगानीमा विद्यालयको ६ कोठे भवन निर्माण गरी सोमबार हस्तान्तरण गरेका हुन्।
पूर्वब्रिटिश आर्मी राईले विद्यालयको भौतिक संरचना जीर्ण देखेकाले आफ्नै ठाउँमा केही गरौँ भन्ने भावनाका साथ विद्यालय निर्माण गरेको बताए। राईले भने, ‘मैले स्वास्थ्य संस्था बनाउने विचार गरेको थिएँ तर स्वास्थ्य चौकी बनिसकेको रहेछ, त्यसपछि विद्यालय भवन जीर्ण देखेपछि शैक्षिक गुणस्तरमा समेत टेवा पुग्ने देखेर भवन निर्माण गरेको हुँ।’
सत्तरी वर्षका राईले विद्यालय भवनमात्र नभई विद्यार्थी खेल्ने ठाउँसमेत बनाएका छन्।
नवनिर्मित ६ कोठे पक्की भवन र विद्यालयको खेलमैदानमा नै खेल्ने सामग्री पाउँदा विद्यार्थी खुसी छन्। बसाइँसराइ, जन्मान्तरलगायतका कारण हरेक वर्ष विद्यार्थी घट्दै गएको अवस्थामा गुणस्तरीय शिक्षाका लागि बनेको भवनले मद्दत पुग्ने विद्यालयका प्रधानाध्यापक चन्द्र बोगटीले बताए।