नवलपरासी बर्दघाट । सरकारले छ वर्षअघि मन्त्रिपरिषद् बैठकबाट ७७ औँ जिल्लाका रूपमा नवलपरासी बर्दघाट सुस्तापूर्वलाई घोषणा गरेपछि सरकारी कार्यालय भाडामा बस्न सुरु गर । जनतालाई सहज सेवा प्रवाहका लागि भाडामा कार्यालय भएपछि सदरमुकाम कावासोतीमा सरकारी कार्यालय निर्माण गर्ने योजना अघि बढाए पनि त्यसले अझै पूर्णता पाउन सकेको छैन ।
एकीकृत सरकारी कार्यालय निर्माण गर्ने योजनाका साथ गत वैशाख ७ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भवन निर्माणको शिलान्यास गरेका थिए । अहिलेसम्म केही ठाउँमा थोरै जग्गा समथर बनाउने कामबाहेक अरू केही पनि काम भएको छैन ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले छ वर्ष बित्दासम्म एकीकृत सरकारी कार्यालयको गुरुयोजनासमेत नबनेको बताए । उनले भने, “हामीले पटक पटक प्रदेश सरकारलाई भनिरहेका छौँ तर डिपिआर र गुरुयोजना निर्माणको काम भइरहेको छ भन्ने मात्रै सूचना आएको छ । काम कहिले हुन्छ भन्ने पत्तोसम्म नहुनु दुःखको विषय हो ।”
हामीलाई भवन निर्माणको जिम्मा दिनुहोस् भने पनि एकीकृत भएकाले त्यसो गर्न नमिल्ने बताएपछि झनै ढिलाइ भएको उनको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गुरुयोजना अनुसार काम अगाडि बढाइने र अब भवन बिस्तारै सुरु गरिने जानकारी दिए । आएको रकम २० करोड रुपियाँबाट भवन निर्माण सुरु गरिने पनि उनले बताए ।
नमुना सदरमुकामको भ्रमण गर्ने क्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले यस वर्ष भवन निर्माणका लागि २० करोड निकासा भएको उल्लेख गर्दै काम सुरु गर्न निर्देशन दिएका थिए । गोरखापत्रबाट