काठमाडौं। सडक डिभिजन महेन्द्रनगरले नागार्जुन कन्स्ट्रक्सनसँग ठेक्का तोड्ने तयारी गरेको छ। डिभिजनले बुधबार सूचना जारी गर्दै उक्त निर्माण कम्पनीले ठेक्का लिएको काम दुई वर्षदेखि अलपत्र पारेको जनाएको हो।
त्यसैले उक्त कम्पनीसँग ठेक्का तोड्ने तयारी थालेको सूचनामा छ। निर्माण कम्पनीले २०७८ वैशाख १२ मा डिभिजनसँग महाकाली राजमार्गको सडक, स्लोप र फुटपाथहरु निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो।
एक वर्षमा पुरा गर्नु पर्ने काम नगरेपछि २०७८ चैत ३० मा म्याद थपिएको थियो। तर थपिएको समयावधिमा पनि निर्माण कार्य गर्न नसकेपछि डिभिजनले ठेक्का तोड्ने प्रक्रिया थालेको हो।
डिभिजनले कम्पनीलाई पटक पटक लिखित तथा मौखिक रुपमा ताकेता गर्दा समेत निर्माण कम्पनीले बेवास्ता गरेको जनाएको छ। अहिले डिभिजनले अन्तिम मौकास्वरुप ७ दिने स्पष्टीकरण माग गरेको छ।
