बागलुङ । राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका छन् । सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ पुगेका राष्ट्रपति पौडेलले सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।
सङ्ग्रहालय अवलोकन गर्न कुँडुले पुगेका राष्ट्रपति पौडेललाई मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, ऋषि प्रपन्नाचार्यलगायतले स्वागत गरे । सङ्ग्रहालय अवलोकनपछि राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्यक्ष अवतार शालिग्रामको सङ्ग्रह गरेकामा धन्यवाद दिए । बागलुङसँगको आफ्नो सम्बन्ध निकट रहेको उनले बताए ।
राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्दोलनमा बागलुङ कारागारमा जेल जीवन बिताएको स्मरण समेत गरे। राष्ट्रपति पौडेलले कालीगण्डकीको धेरै ठूलो महत्व रहेकाले यसको संरक्षणमा जोड दिए । कालीगण्डकीको संरक्षण नगरे बागमतीको जस्तै अवस्था हुने उनको भनाइ छ ।
नेपाल धार्मिक, सांस्कृतिक र परम्पराले भरिएको मुलक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सांस्कृति पक्षको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने बताए । उनले भने, “पानीको स्रोतको सुरक्षा गर्न जरुरी छ, पानी भएर नै सिङ्गो जगत छ, त्यसले गर्दा हिमाल, वन जङ्गलको संरक्षण गर्नुपर्छ, कालीगण्डकी धार्मिक हिसाबले निकै महत्वपूण रहेकाले यसको संरक्षणमा लागौँ।”