काठमाडौं। सहकारी रजिष्ट्रार कार्यालयका पूर्व रजिष्ट्रार तथा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पर्वत प्रहरीले बुधवार पराजुलीलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो । उनलाई आज कार्यकक्षबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए । मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।