काठमाडौं। मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्म कालोपत्र गरिने भएको छ। अहिले ‘बेस’ राख्ने काम भइरहेको जामुने–पोखरा सडक माघ तेस्रो सातादेखि कालोपत्र गरिने भएको हो।
सडक कालोपत्रका लागि करिब दुई किलोमिटर बेसको काम सकिएको छ। पुसको अन्तिम वा माघको सुरुदेखि कालोपत्र हुने आयोजनाले जनाएको छ । हाल चिनियाँ ५० र नेपाली ६० इन्जिनियर यो खण्डमा खटिएका छन् । त्यस्तै आयोजनास्थलमा चार सयभन्दा बढी नेपाली कामदार परिचालन गरिएको छ । हालसम्म यो खण्डको प्रगति १४ प्रतिशत भएको छ।
सडक आयोजनासँग हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ ।