काठमाडौं। भक्तपुरको नलिनचोकमा हेलिपोर्ट तयार गर्न लागिएको छ।त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चापलाई कम गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिपोर्टको काम थालेको हो।
यो हेलिपोर्टका लागि आर्थिक वर्ष २०७९/८० मा २५ करोड रूपैयाँ बजेट छुट्याएको छ। हेलिपोर्टको अहिले मैदानको काम सम्पन्न भई परीक्षण उडान समेत सम्पन्न गरिएको छ।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान तथा सञ्चार उपकरणमा हुने व्यस्तता कम गर्ने उद्देश्यसहित भक्तपुरको नलिनचोकमा हेलिपोर्ट बनाउन थालेको हो। यो सञ्चालनमा आइसकेपछि यात्रुले हेलिकप्टर चढ्न समेत सोही स्थानमा पुग्नु पर्नेछ।
यसले केहीहदसम्म काठमाडौंको चाप घढाउन सहयोग पुग्ने बताइएको छ।
परीक्षण उडानको प्रतिवेदन आइसकेपछि यहाँ व्यावसायिक उडानको बाटो खुल्ने बताइएको छ। प्राधिकरणले हेलिपोर्टका लागि १५ करोड र टर्मिनल भवनसहितका संरचना बनाउन १० करोड रुपैयाँ विनियोजन गरेको थियो। यो हेलिपोर्ट बनाउन गत वर्ष साउनमा ठेक्का लागेको हो।