मुगु। कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा साउनयता पाँच महिनाको अवधिमै ६ हजार २ सय पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ देखि मंसिर मसान्तसम्म आन्तरिक पर्यटक ६ हजार ७५, सार्क मुलुकका २६ जना र अन्य बिदेशी ९९ सय जना गरी ५ महिनामा ६ हजार २ सय पर्यटकले रारा भ्रमण गरेका छन् ।
रारा राष्टिय निकुञ्ज कार्यालयका सुचना अधिकारी जयहरि धितालले ५ महिना भित्र ६ हजार २ सय पर्यटकले रारा भ्रमण गरेको बताए । यो बर्ष रारामा पर्यटक आगमनको संख्या आशालाग्दो हिसावले वृद्धि भइरहेको उनको भनाई छ । दसैं तिहार बिदाको मौका छोपेर आन्तरिक पर्यटक रारामा बढी आएको निकुञ्जले जनाएको छ । ५ महिना भित्र पर्यटकबाट करिव १८ लाख राजश्व असुली भएको कार्यालयले जनाएको छ ।
गत बर्ष ११ हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुक बाट २६ जना तथा अन्य बिदेशी १ सय ८३ जना पर्यटक आएका थिए । कोरोना महामारीका कारण चार बर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र रारामा यो बर्ष पर्यटक आगमन बढ्ने देखिएको हो ।
निकुञ्ज कार्यालयले रारा भ्रमणमा आउने आन्तकि पर्यटकबाट प्रति व्यक्ति १ सय सार्क मुलुकका पर्यटकबाट प्रति व्यक्ति १ हजार ५ सय र अन्य बिदेशी पर्यटकबाट प्रति व्यक्ति ३ हजारका दरले प्रबेश शुल्क उठाउने गरेको छ ।
हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक रारा भ्रमण गर्न आउने गरेका छन् ।
पर्यटन व्यवसायीहरु भने सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्यरुपमा वृद्धि हुन नसकेको गुनासो गर्छन् । अर्को तिर रारा क्षेत्रमा पर्यटकलाई बास बस्ने सुबिधायुक्त होटल र मनोरञ्जनका साधन समेत छैनन् । कान्तिपुरबाट