इलाम। पुस मसान्तमा कामसक्ने गरी ठेक्का लगाइएको दमक-चिसापानी (फाल्गुनन्द) सडकको पुनःएक वर्ष म्याद थप गर्ने सहमति भएको छ । तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो।
कालोपत्रका लागि ठेक्का लागेर पनि अलपत्र बनेको सो सडक अब एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी र सरोकारवाला निकायबीच सहमति भएको हो। पहिलो खण्ड आगामी बैशाखसम्ममा काम सक्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । बाँकी दुई खण्ड एक वर्षभित्रमा काम सम्पन्न गर्ने सहमति भएको छ।
सरकारले समयमा भुक्तानी नदिएका बीचमा काम अलपत्र छोडिएको निर्माण कम्पनीले दाबी गर्दै आएको छ । सडक डिभिजन कार्यालय दमकले पटकपटक ताकेता गरिएको बताउँदै विद्यामान समस्या समाधान गरी काम अगाडि बढाउने सहमति भएसँगै कामले गति लिने बताएको छ।
निर्माण कम्पनीले सरकारको नीतिका कारण व्यवसायीलाई समस्यामा भएको जनाएको छ। गत आर्थिक वर्षमा भुक्तानी हुनुपर्ने रकम भुक्तानी नभएकाले काम गर्न समस्या भएको निर्माण कम्पनीको भनाइ छ। अब बैशाखसम्ममा जसरी पनि काम सम्पन्न गर्ने कम्पनीको दाबी थियो ।