मकवानपुर। मकवानपुरको रोशी गाउँपालिका–६ को नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ। बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले भवनको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लामाले अबको राजनीति नागरिकको जीवनस्तर सुधार तर्फ केन्द्रित हुनु पर्ने बताए । उनले काभ्रेका स्थानीयको शिक्षा, चेतनाको स्तर क्रमशः सुधार हुँदै गएको र आगामी योजनाहरू नागरिकको आर्थिक समृद्धिको लागि जीवनस्तर उठाउन केन्द्रित हुनुपर्ने बताए । पोटाखोला हुँदै घट्टेखोला सम्मको सडक कालोपत्र तत्काल गर्न र सिपाली हुँदै जाने सडक पनि प्रदेश सरकारमार्फत स्तरोन्नति गर्ने गरी पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभाका मुख्य सचेतक रत्नप्रसाद ढकालले सो क्षेत्रको विकासमा महत्त्वपूर्ण अर्थ राख्ने पोटाखोला–घट्टेखोलाबाट सिपाली हुँदै महाभारत जाने सडक निर्माणका लागि पहल गर्ने बताए । आगामी वर्ष सो सडक कालोपत्र गर्न प्रदेश सरकार समक्ष बजेट विनियोजनका लागि पहल गर्ने उनको भनाई छ ।
जिल्ला समन्वय समिति काभ्रेको लागत साझेदारीमा ५८ लाख रुपैयाँ खर्च गरेर रोशी–६ को कार्यालय भवन निर्माण सहित घेराबार गरिएको थियो । पहिलो स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधिको पहिलो कार्यकालमा गाउँपालिकाको ६० प्रतिशत र जिल्ला समन्वय समितिको ४० प्रतिशत साझेदारीमा ३० लाख रुपैयाँको लागतमा २ तले भवनको पहिलो तला सम्पन्न भएको थियो । गत निर्वाचन पछि भने दोस्रो तलाको निर्माणका लागि २८ लाख रुपैयाँ खर्च गरिएको थियो ।