मकवानपुर। बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले पोटाखोला–घट्टेखोला सडक कालोपत्र गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। मकवानपुरको रोशी गाउँपालिका–६ को नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लामाले पोटाखोला हुँदै घट्टेखोला सम्मको सडक कालोपत्र तत्काल गर्न पहल गर्ने बताएका हुन्।
उनले सिपाली हुँदै जाने सडक पनि प्रदेश सरकारमार्फत स्तरोन्नति गर्ने गरी पहल गर्ने प्रतिबद्धता जनाए। मन्त्री लामाले अबको राजनीति नागरिकको जीवनस्तर सुधार तर्फ केन्द्रित हुनु पर्ने बताए । उनले काभ्रेका स्थानीयको शिक्षा, चेतनाको स्तर क्रमशः सुधार हुँदै गएको र आगामी योजनाहरू नागरिकको आर्थिक समृद्धिको लागि जीवनस्तर उठाउन केन्द्रित हुनुपर्ने बताए।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभाका मुख्य सचेतक रत्नप्रसाद ढकालले सो क्षेत्रको विकासमा महत्त्वपूर्ण अर्थ राख्ने पोटाखोला–घट्टेखोलाबाट सिपाली हुँदै महाभारत जाने सडक निर्माणका लागि पहल गर्ने बताए । आगामी वर्ष सो सडक कालोपत्र गर्न प्रदेश सरकार समक्ष बजेट विनियोजनका लागि पहल गर्ने उनको भनाई छ ।