डोटी। सेतीनदी ६ (एसआर सिक्स) परियोजनाको ड्याम निर्माण स्थलसम्म जाने पहुँचमार्ग निर्माणका लागि सम्झौता गरिएको छ। पहुँचमार्ग निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकार र बोगटान फुड्सिल गाउँपालिका बीच सम्झौता भएको हो।
प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा आफैं गाउँपालिकामा पुगेर मन्त्रीको उपस्थितिमा सम्झौता भएको छ।
पश्चिम सेती र सेती ६ परियोजनाको सम्भाव्यता अध्ययनका लागि भारतीय कम्पनी एनएचपीसीसँग लगानी बोर्डको सम्झौता भएअनुसार सो कम्पनीले सेती ६ परियोजनाको अध्ययन क्षेत्रसम्म सडक मार्ग नभएकाले कठिनाइ भइरहेको गुनासो लगानी बोर्डसँग गरेपछि सो क्षेत्रमा जाने खत्याडी–मोरासैन सडक निर्माणका लागि प्रदेश र स्थानीय सरकारबीच सम्झौता भएको हो।
आइतबार अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापति मानबहादुर रावल, प्रदेश सभा सदस्य शिव सिं ओलीसहित मन्त्रालयको टोली लिएर मन्त्री देउवा बोगटान फुड्सिल गाउँपालिका पुगेका थिए। मन्त्री देउवाले सडक निर्माण हुने क्षेत्रको अनुगमन समेत गरेका थिए।