कञ्चनपुर। गतिलो पदमार्ग नहुँदा विगतमा पर्यटकले घाँसका बोट समातर पहाड उक्लिदै शुक्लाफाँटा नगरपालिका–८ स्थित बतासे झर्ना पुग्ने गर्दथे । अहिले यस क्षेत्रमा पदमार्ग निर्माण गरिएपछि पर्यटकलाई गन्तव्यमा पुग्न निकै सहज भएको छ । ढुङ्गा विच्छ्याएर पदर्माग निर्माण गरिएको छ ।
पहाडमाथि उक्लिने ठाउँमा ढुङ्गाका खुट्किला निर्माण गरिएका छन् । तेर्सो बाटोमा सहज रुपमा हिँड्न मिल्ने गरी ढुङ्गालाई एक नासले मिलाएर विच्छ्याइएको नगरपालिकाले जनाएको छ । खोलाखल्सीमा कल्भर्टका लागि ठाउँ छाडिएको बताउँदै उक्त स्थानमा पर्यटन बोर्डको रू १० लाख लागतमा कल्भर्ट निर्माण गरिने बताइएको छ।
नगरपालिका र जीविकोपाजर्न पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना ९एसटिएलआरटी० बिच भएको लागत साझेदारी कार्यक्रमअन्तर्गत पदमार्ग निर्माण गरिएको हो। परियोजनाको कूल लागत ३० लाख ५० हजार रुपैयाँ रहेकामा सम्झौता अनुसार १५ लाख ५० हजार रुपैयाँ नगरपालिका र १५ लाख रुपैयाँ एसटिएलआरटीले व्यहोर्ने बताइएको छ।
२१ लाख ९० हजार रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत ३ किलोमिटर पद्मार्ग निर्माण पूरा गरिएको छ। पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकलाई फाइदा पुग्नुका साथै यहीँ मार्गहुँदै सामान पिठ्यूँमा बोकेर डडेल्धुराको पर्शुराम नगरपालिकातर्फ जानेलाई पनि सहज भएको छ।