सुनसरी। धरान उपमहानगरपालिकाले धरान दिवसका अवसरमा ‘ धरान उत्सव’ आयोजना गर्ने भएको छ । धरान उपमहानगरपालिकामा पुस २० देखि २४ गतेसम्म ‘धरान उत्सव’ आयोजना गरिने भएको हो।
उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले एक सूचना जारी गर्दै उत्सवमा सहभागी बन्न नगरवासीमा आग्रह गरेका छन् । उत्सवका लागि उपमहानगरपालिकाले पुस १९ गते हिमालय पेट्रोलपम्पदेखि तीनकुनेसम्म सरसफाइ गर्ने भएको छ ।
पुस २० गते विभिन्न सङ्घसंस्थाका झाँकी र र्यालीले बजार परिक्रमा गरेपिछि धरान–१२ स्थित पब्लिक हाई स्कुलको खेल मैदानमा उत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।
पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, २२ गते विद्यालयस्तरीय खेलकुद प्रतियोगिता, लोकदोहोरी कार्यक्रम र वाकाथुन कार्यक्रम रहने छन् भने २३ गते श्रमदाता र्याली र झाँकी प्रदर्शन तथा २४ गते रस्सीतान प्रतियोगिता, लगानी गोष्ठी आयोजना गरेर उत्सवको समापन गरिने नगर प्रमुख राईले जानकारी दिएका छन् ।