काठमाडौं। संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार मृत्यु हुनेमा चिचिला गाउँपालिका–३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्य प्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंह हुन्।
बुधबार राति ८ बजे चिचिला–३ सोलाखानीमा रहेको अडिट ३ को सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर सिंह घाइते भएका थिए। उनको बुधबार राति उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको प्रहरी प्रमुखले जानकारी दिए।
हालसम्म अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक दर्जन भारतीय र नेपाली मजदुरले ज्यान गुमाइसकेका छन्। घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी घटनास्थलमा खटिसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए। दुर्घटनाका कारणसहितको प्रतिवेदन ल्याउन प्रहरीलाई निर्देशन दिइसकेको खतिवडाले बताए। सुरुङभित्र काम गर्न मजदुरलाई निकै जोखिम भए पनि आयोजनाले सुरक्षा सामग्री नदिएको मजदुरको गुनासो छ।