काठमाडौं। अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौं–पोखरा र काठमाडौं–सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न ४ कम्पनीले सोफासहितको ६ नयाँ बस सञ्चालनमा ल्याई यात्रुलाई सेवा प्रदान गरेको हो।
बाबा एडभेन्चर टुर्स एन्ड ट्राभल्स, रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभल्स, यती एडभेन्चर टुर्स एन्ड ट्राभल्स, ब्ल्यू लाइन ट्राभल एन्ड टुर्सले काठमाडौंदेखि पोखरा र काठमाडौंदेखि सुनौली जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बस सञ्चालनमा ल्याएका हुन् ।
यती एडभेन्चर टुर्स एन्ड ट्राभल्सका सञ्चालक कृष्ण आचार्यले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी काठमाडौँदेखि पोखरा र सुनौली आठवटा पर्यटक बसले सेवा प्रदान गरेको बताए । टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष रहनुभएका आचार्यले नेपालको पर्यटक बसमा पछिल्लो समय ठूलो लगानी भए पनि बाटो बिग्रिएका कारण समस्या भएको उल्लेख गरे ।
रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभलको सञ्चालक शिशिर खनाल पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि सोफासहितको नयाँ बस सञ्चालनमा ल्याइएको बताए । उनले आफ्नो कम्पनीले दुई करोड ५० लाख रुपैयाँमा दुईवटा बस खरिद गरी पर्यटकलाई सेवा प्रदान गरेको उल्लेख गरे । रेम्बो, ब्ल्यू र यतीले भित्र्याएका बसहरुले काठमाडौं–पोखरा पर्यटकलाई सेवा प्रदान गर्नेछन् ।