लमजुङ। क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको हो।
विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे पनि नयाँवर्ष मनाउन आउने पर्यटक यतिबेला बढेका छन् । अहिले दैनिक तीन–चार सयको हाराहारीमा पर्यटक आइरहेका छन् । तीन सय जनाको क्षमता रहेको घलेगाउँ घरबास सबै पर्यटकले भरिएर अन्य घर र होटलमा सारिएको गाउँपालिकाले बताएको छ।
२०५७ देखि सञ्चालनमा भएको घरबास यहाँ बढेर अहिले ४२ घरबास पुगेको छ । पर्यटकको सत्कारसँगसँगै घरबासमा आफ्ना कला, वेशभूषा, संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरुको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गरेका छन्।