नारायणगढ। पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ । देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालनको तयारी गरिएको हो।
२०७१ कात्तिकमा ठेक्का सम्झौता भई निर्माणकार्य सुरु गरिएको पुल निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माणकार्य ढिला हुनपुगेको पनि अब भने सञ्चालनको चरणमा पुग्न लागेको छ । सडक डिभिजन भरतपुरका अनुसार हाल पुल निर्माणको काम ९८ प्रतिशत सम्पन्न भएको छ ।
केही दिनअघि मात्र गत आर्थिक वर्षको दुई करोड ९० लाख रुपैयाँ रकम भुक्तानी भएको हुँदा बजेटमा सहजता मिलेको बताइएको छ।
अब निर्माण कम्पनीलाई रु दुई करोड भुक्तानी गर्न बाँकी छ। पुल निर्माणका लागि संशोधित लागत रु २१ करोड ५० लाख भएतापनि सबै काम सम्पन्न गर्दा रु डेढ करोड बजेट थप गर्नुपर्ने सडक डिभिजन भरतपुरले जनाएको छ।
ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्नेगरी इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले पुल निर्माणको जिम्मा लिएको थियो ।
तीनवटा पक्की स्पान र नदीको बहाव क्षेत्रमाथि ८० मिटर लम्बाइको स्टिल संरचना गरी दुई सय २० मिटर लम्बाइको पुल निर्माण भएको छ।