गोरखा। प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन्। एक वर्षको अवधिमा यस वर्ष ९ हजार एक सय ६६ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालयले जनाएको छ।
सन् २०२२ मा यस क्षेत्रमा छ हजार एक सय दुई विदेशी पर्यटकले भ्रमण गरेका थिए । यसअघि सन् २०१९ मा ७ हजार पाँच सय ५५ जनाले, सन् २०१८ मा सात हजार ६ सय ५४ जनाले भ्रमण गरेकामा कोरोना सङ्क्रमणका कारण सन् २०२० मा तीन सय ३७ र सन् २०२१ मा नौ सय २५ जनाले मात्र मनास्लु क्षेत्र भ्रमण गरेको कार्यालयले बताएको छ। विश्वमाझ चर्चा कमाउँदै गएको यस क्षेत्रमा सन् २०२४ मा १२ हजार विदेशी पर्यटकले घुम्न आउने अनुमान गरिएको छ।
मनास्लु क्षेत्र प्राकृतिक हिसाबले मनोरम र सामरिक हिसाबले पनि विशेष महत्वको क्षेत्र भएकाले पनि विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।