खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा नेपाली सेनाले बहुउद्देश्यीय हेलिप्याड र शौचालय निर्माण गरिदिएको छ । नेपाली सेनाको गोरखनाथ गण मुडेले यहाँ कार्यरत जनशक्तिको प्रयोग गरी धितुङस्थित लोकेबर नजिकैको सार्वजनिक जग्गामा हेलिप्याड र शौचालय बनाइदिएको हो ।
हलेसीमा आउने पर्यटक तथा आकस्मिक रुपमा उद्धार गर्नुपर्ने बिरामीका लागि आवश्यक हेलिप्याड निर्माण गरिएको मुडे ब्यारेकका गणपति प्रमुख सेनानी सुजन गुरुङले बताए ।
तीस मिटर लम्बाई र तीस मिटर चौडाई भएको उक्त हेलिप्याडमा ३५ जना बोक्न सक्ने हेलिकोप्टर अवतरण गर्न सकिने गुरुङको भनाइ छ । हेलिप्याडसँगै भलिबलका लागि खेलमैदान समेत तयार भएको छ । नजिकमा शौचालय समेत बनेको छ ।
उक्त संरचना निर्माणका लागि दुई हप्ता लागेको गणपति गुरुङले बताए । नेपाली सेनाले निर्माण गरेको हेलिप्याड, भलिबल खेलमैदान र शौचालय बुधबार हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले उद्घाटन गरिन्।
सो अवसरमा उक्त बहुउपयोगी हेलिप्याडमा भलिबल खेलका लागि सेनाले चारवटा भलिबल र दुईवटा नेट (जाली)समेत उपलब्ध गराएको छ । कान्तिपुरबाट