सिन्धुपाल्चोक। सांसद अमरेशकुमार सिंह लगायतको प्रतिनिधिमण्डलले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलको स्थलगत अवलोकन गरेको छ। बुधबार हेलम्बु–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा भइरहेको कामका बारेमा प्रतिनिधिमण्डलले स्थलगत अवलोकन गरेको हो।
उक्त अवसरमा सांसद सिंहले सरकारले मेलम्ची खानेपानी आयोजनालाई उच्च प्राथमिकता दिएर बाह्रै महिना काठमाडौँवासीलाई पानी पुर्याउनुपर्ने बताए।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा काठमाडौँमा पानी लाने गरी मर्मतको काम भैरहेको बताए । अवलोकनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सांसद सिंह, वित्त आयोगका सदस्य जुद्द गुरुङ, विपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीलगायतको सहभागिता रहेको थियो ।
मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पुर्याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ ।